काठमाडौँ - म्यानचेस्टर युनाइटेड मंगलबार मात्रै छाडेका क्रिस्टियानो रोनाल्डो स्टेडियम ९७४ मा उपस्थित हुँदा दर्शकको नजर उनीमाथि नै हुने पक्का छ। युनाइेटडका प्रशिक्षक टेन हागसँग सुमधुर सम्बन्ध नभएपछि रोनाल्डोले क्लब छोडेका हुन्।
रोनाल्डोलाई अब राष्ट्रको मात्रै चिन्ताले सताउनेछ। पाँचौँपटक विश्वकप खेल्दै गरेका रोनाल्डोले पहिलोपटक ट्रफी उचाल्ने सपना बोकेका छन्।
सम्भवतः अन्तिम विश्वकप खेल्दै गरेका रोनाल्डो सम्मिलित पोर्चुगलले घानासँग प्रतिस्पर्धा गर्दै कतार विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘एच’को खेलमा रोनाल्डो स्वाभाविक लयमा फर्किएको देखाउन चाहन्छन्। अफ्रिकन टोलीविरुद्ध रोनाल्डो उत्कृष्ट प्रदर्शन गर्दै मानसिक दबाबमुक्त रहेको संकेत गर्नेछन्। फर्नान्डो सान्तोषको पोर्चुगल घानाविरुद्ध जित निकाल्दै प्रिक्वार्टरफाइनलको सम्भावना बलियो बनाउनतर्फ ध्यान केन्द्रित गर्नेछ।
यसपटक पोर्चुगल रोनाल्डोमा मात्रै केन्द्रित हुनेछैन। पोर्चुगलसँग ब्रुनो फर्नान्डेज, बर्नार्डाे सिल्भा, राफेयल लिआ, रुवेन डिआस, नुनो मेन्डिज, जोआओ कन्सेलोजस्ता खेलाडीको राम्रो साथ रहेको छ। पोर्चुगल पछिल्लो ५ संस्करणमध्ये चारपटक अन्तिम १६ बाट माथि बढ्न सकेको छैन। सन् १९६६ र २००६ मा मात्रै टोली सेमिफाइनल पुगेको छ।
घानाका खेलाडी आन्द्रे आयेव कतारी क्लब अल सादबाट खेल्दै आएका छन्। मध्यपूर्वी एसियाली मुलुकको वातारणसँगको राम्रो घुममिल रहेका आन्द्रेले घानाको लक्ष्यलाई राम्रो साथ दिन सक्छन्।