काठमाडौँ - प्रिमियर लिग क्लब लिभरपुलले उरुग्वेली स्ट्राइकर डार्विन नुनेजलाई अनुबन्ध गर्नका लागि बेन्फिकासँग सहमति गरेको छ। पोर्चुगिज क्लब बेन्फिकाले सोमबार विज्ञप्ति जारी गर्दै यस विषयलाई पुष्टि गरेको हो।
बेन्फिकाका अनुसार लिभरपुलले नुनेजका लागि ७५ मिलियन युरो तिर्ने सहमति भएको छ। यस्तै अन्य विभिन्न रकम गरी १०० मिलियन युरोमा सहमति भएको क्लबले बताएको छ।
लिभरपुलले अहिलेसम्मको कीर्तिमानी अनुबन्ध भनेको सेन्टर ब्याक भर्जिल भान डाइकको लागि हो। जसका लागि क्लबले साउथह्याम्पटनलाई ७५ मिलियन पाउण्ड तिरेको थियो।
२२ वर्षीय नुनेजले गत सिजन सबैखाले प्रतियोगितामा गरी बेन्फिका लागि ४१ खेल खेल्दै ३४ गोल गरेका थिए।
उरुग्वेका लागि ११ अन्तर्राष्ट्रिय खेल खेलेका नुनेजले २०२१-२२ सिजन २८ लिग खेलेमा २६ गोल गरेका छन्। उनले च्याम्पियन्स लिगमा १० खेल खेल्दा ६ गोल गरेका छन्।
लिभरपुलले यसअघि पहिलो अनुबन्धको रुपमा पोर्चुगलका फाबियो कार्भाल्होलाई भित्र्याइसकेको छ। उनि आधिकारिक रुपमा फुलहमबाट जुलाई १ मा लिभरपुलमा समावेश हुनेछन्।