काठमाडौँ - भारत विश्व क्रिकेटमा निकै चर्चित नाम हो। जारी रणजी ट्रफीको क्वार्टरफाइनल खेलमा बंगालको टोलीले विश्व क्रिकेटमा अनौठो कीर्तिमान कायम गरेको छ।
बंगालका ओपनरदेखि नवौं नम्बरसम्मका सबै ब्याटरले ५० रनभन्दा बढी बनाएका छन्। जसमा दुई शतक र सात अर्धशतक सामेल छ।
बंगालले सात विकेट गुमाउँदै ७७३ रनमा आफ्नो इनिङ्स समाप्त भएको घोषणा गरेको थियो। अर्थात् ब्याटिङका लागि मैदान उत्रिएका नौजना ब्याटरले नै ५० रनभन्दा माथिको योगदान गरेको थियो।
बंगालको पारीमा सुदीपकुमार घरामी र ए मजुमदारले शतक बनाएका थिए। घरामीले १८६ रन मजूमदारले ११७ रनको पारी खेलेका थिए। शहबाज अहमदले ७८, मनोज तिवारीले ७३, अभिषेक पोरेलले ६८, अभिमन्यु इश्वरनले ६५ र अभिषेक रमन ६१ रनको योगदान दिँदा सायन मण्डल र आकाश दिप ५३ रनमा अविजित रहेका थिए।