घुस खाने हवल्दार : एकलाख जरिवाना र पाँच महिना कैद

काठमाडौं । सेवाग्राहीबाट एक लाख रुपैयाँ घूस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई विशेष अदालतले पाँच महिनाको कैद सजाय सुनाएको छ ।

अदालतले प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार रहेका सिंहलाई दोषी ठहर गरी कैदसहित १ लाख जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।

कुखुरे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट घूस लिएपछि उनी गत साउनमा अख्तियारको फन्दामा परेका थिए ।

यसैगरी लागुऔषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घूस लिने प्रहरी नायब निरीक्षक पवन साउदलाई ३ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना भएको छ । इलाका प्रहरी कार्यालय मैनाखोर बर्दियामा कार्यरत उनलाई घूस लिइसकेको अवस्थामा अख्तियारले मंसिर १२ गते नियन्त्रणमा लिएको थियो ।

कैलालीको घोडाघोडीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाह नक्कली प्रमाणपत्रको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई दोषी ठहर गरी ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार कार्कीले जानकारी दिए ।

भारतबाट प्राप्त गरेको इन्टरमिडियटको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरुद्ध गत असोजमा मुद्दा हालेको थियो । तीनवटै फैसला आज विशेष अदालतका न्यायाधीशत्रय डाक्टर खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रीतेन्द्र थापाको संयुक्त इजलासले गरेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×