काठमाडौँ - अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन्।
फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन्। उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो।
अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन्। फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन्। एक तस्वीरमा प्रदीप र पार्श्व गायक तरुण सागर सँगै देखिएका छन्।
स्रोतका अनुसार मुम्बईको एक प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा छन्। तर उक्त फिल्म गर्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन। प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो।