काठमाडौँ - नेपाली लोकपप ब्यान्ड नेपथ्यले नेपालका विभिन्न स्थानमा एक महिना कन्सर्ट गर्ने भएको छ। मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारासहित यो सांगीतिक यात्रा तय गर्न लागेको सो ब्यान्डले जनाएको छ।
नेपथ्यले आफ्नो सांगीतिक यात्रा आउँदो १६ मंसिरबाट १६ पुससम्म नेपालको पूर्वी क्षेत्रदेखि सुदूरपश्चिमसम्म गर्ने भएको छ। ‘मानवता प्रवद्र्धन अभियान’का लागि यो कन्सर्ट गर्न लागेको नेपथ्यले जनाएको छ। ‘मानवसेवा आश्रम’सँग हातेमालो गरेको नेपथ्यले ‘मानवताका लागि संगीत’मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने भएको छ। घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसको सेवामा यो कन्सर्ट समर्पण रहने सो ब्यान्डले जनाएको छ।
नेपथ्य यात्राको प्रस्तुति बिराटनगरबाट सुरु हुने यसका प्रमुख अमृत गुरुङले जनाएका छन्। त्यसपछि ब्यान्डले १९ मंसिरमा वीरगन्जमा, २२ मंसिरमा हेटौंडामा कन्सर्ट गर्ने भएको छ। हेटौंडापछि २५ मंसिरमा नारायणघाटमा २९ मंसिरमा नेपालगन्जमा ३ पुसमा धनगढीमा, ६ पुसमा वीरेन्द्रनगर (सुर्खेत)मा ९ पुुसमा बुटवलमा, १२ पुसमा पोखरा र १६ पुसमा काठमाडौँमा नेपाथ्यले सांगीतिक कार्यक्रम गर्नेछ।
ब्यान्डले यी प्रदर्शनमार्फत बेसहारा बन्न पुगेका नेपालीको आवाज बनिदिने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा समेत हातेमालो गर्नेछ। ‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएका छौं,’ ब्यान्डका मुख्य गायक अमृतले भने, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मन पराउँदै आउनुभएका स्रोतादर्शकमाझ पुग्न लागेका छौं।
अमृतका अनुसार नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो,‘हामीले सबैतिर उच्चस्तरको प्रविधिसहित खुला आकासमुनि सो आयोजना गर्न लागेका छौं,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठले भनेका छन्।
मुलुकभरका कन्सर्टको आयोजक मानवसेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रहरूले सघाउने पनि उनले बताएका छन्।