काठमाडौँ - नाबालिग किशोरीले बलात्कारको आरोप लगाएपछि निलम्बनमा परेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने नेपाल आइपुग्ने पर्खाइमा नेपाल प्रहरी रहेको छ।
गत बिहीबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको नेपाल प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गर्ने तयारी गरेको छ। तर, उनी नेपाल कहिले आउने हुन् भन्ने अहिलेसम्म खुलेको छैन।
क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका सन्दीप लामिछानेले सामाजिक सन्जालमा आफूमाथि लागेको आरोप खेप्न आफूले लिग छाडेर नेपाल आउने बताएका थिए। उनले आफैं नेपाल आउने बताए पछि प्रहरीले उनलाई इन्टरपोलमार्फत् पक्राउ गर्ने प्रक्रियालाई अगाडि बढाएको छैन।
यता, उनी नेपाल कहिले आइपुग्ने हुन् भन्ने निश्चित छैन। पछिल्ला केही दिन यता नेपाल क्रिकेट एशोसियसनले पनि उनीसँग सम्पर्क नभएको बताउन थालेको छ। सन्दीप लामिछानेका म्यानेजरहरुले पनि यसबारे केही बताएका छैनन्।