काठमाडौँ - स्पेनका कप्तान सर्जियो बुस्केटले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३४ वर्षीय बुस्केटको कप्तानीमा कतार विश्वकप खेलेको स्पेन प्रिक्वार्टरफाइनलबाट बाहिरिएको थियो।
स्पेन अन्तिम १६ को खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। जहाँ बुस्केटको पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए। बुस्केटले सन् २००९ मा स्पेनको टिमबाट डेब्यू गरेका थिए। १३ वर्ष स्पेनको टिमबाट खेलेका बुस्केटले १४३ क्याप जितेका छन्। उनी स्पेनबाट इकर क्यासियास र सर्जियो रामोसपछि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्।
बार्सिलोनाका मिडफिल्डर बुस्केटले २ अन्तर्राष्ट्रिय गोल गरेका छन्। स्पेनले २०१० को विश्वकप र युरो २०१२ को उपाधि जित्दा बुस्केट टिमका महत्त्वपूर्ण खेलाडी थिए।
“मेरो यो यात्रामा सारथी बन्ने म सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु,” बुस्केटले इन्स्टाग्राममा लेखेका छन्, “मेरो देशलाई प्रतिनिधित्व गर्न पाउँनु र शीर्ष स्तरमा पुर्याउन पाउनु सम्मानको कुरा हो।”