काठमाडौँ - दुबईमा भइरहेको एक्स्पो २०२० मा नेपाल दिवस पनि मनाइएको होटल सङ्घ नेपाल (हान)ले जनाएको छ। यही माघ २० गते सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय गानका साथ राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका दबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलका नेता त्यहाँका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सहायकमन्त्री युसुफ अल होसानीले सभालाई सम्बोधन गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्ध एक्स्पोका कारणले थप उचाइ लिएको बताएका थिए। दुवैले संयुक्त अरब इमिरेट्सको आर्थिक विकासमा त्यहाँ कार्यरत झण्डै साढे दुई लाख नेपाली कामदारहरुको योगदानको चर्चा गरेका थिए।
नेपाली प्रतिनिधिमण्डल तथा दुबईमा कार्यरत उल्लेख्य नेपाली समुदायको सहभागितामा सो एक्स्पोका लागि नेपाल सरकारबाट नियुक्त नेपाली आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप (आइइजी) ले नेपालबाट तयार गरी लगेको मच्छेन्द्रनाथको आकर्षक प्रतिमूर्तिका साथ मच्छेन्द्रनाथको सानो कदको रथ तानेर दुबईमा पानी परोस् भन्ने प्रार्थना गर्दै नाचगान बाजागाजाका साथ झाँकी प्रस्तुत गरिएको थियो।
दुबईमा रहेका नेपाली कलाकारलगायत सांस्कृतिक संस्थानबाट गएका कलाकारले नेपाल दिवसमा प्रस्तुत गरेका हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक नाचगान सङ्गीत एक्स्पोमा निकै रुचाइएको नेपालका राष्ट्रिय संयोजक तथा प्याभिलियन डाइरेक्टर विनायक शाहले बताए।