काठमाडौँ - बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाको २ गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रि-सिजन अन्तरगतको मैत्रीपूर्ण खेलमा जित निकालेको छ।
सिटीले मेक्सिन क्लब अमेरिकामाथि २-१ को रोमाञ्चक जित निकालेको हो। सिटीको जितमा दुवै गोल ब्रुएनाले गर्दा क्लब अमेरिकाका हेनरी मार्टिनले गोल फर्काएका थिए।
अमेरिकाको टेक्सासस्थित एनआरजी स्टेडियम ह्युस्टनमा बिहीबार बिहान भएको खेलको ३०औं मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो। ४३औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
त्यसको २ मिनेटपछि नै ब्रुएनाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २-१ ले अघि बढेको थियो। दोस्रो हाफमा थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो।