सहयोगका पर्खाइमा राना दम्पती

कञ्चनपुर - लालझाडी गाउँपालिका–१ विनवारीका रामसिंह राना उमेरले ८० वर्ष पुग्न लागेका छन्। उनका ६५ वर्षीया श्रीमती सोनावत्ती राना शारीरिकरूपमा अपाङ्गता छन्। उनीहरूका सन्तान छैनन्। सम्पत्तिका नाममा तीन कठ्ठा ऐलानी जग्गा छ। सो जग्गामा राना दम्पतीको कच्ची घर छ। दुवै ज्येष्ठ दम्पतीलाई स्थानीय बासिन्दाले खानाको जोहो मिलाउने गरेका छन्।

“घरबासका लागि मात्रै जग्गा छ, त्यो पनि ऐलानी हो”, सोनावत्तीले भने, “कम्मरमुनिको भाग चल्दैन, खानाका लागि छिमेकीले जोहो मिलाउँछन्। दुःख बिराम परेका बेला दिदीको छोराले हेर्ने गरेको छ।” बस्नका लागि घर र शौचालयको व्यवस्था दिदीको छोराले गरेको उनले बताए। रामसिंहले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको भत्ताको रकम पाउने गर्छन्। सोनावत्तीले समेत अपाङ्गता भत्ता पाउछिन्। सोही रकमले घरको केही खर्च चल्ने गर्दछ।

“दुवै जना बेला–बेला बिरामी पर्ने गरेकाले भत्ताको रकमले धान्दैन”, रामसिंहले भने, “जेठी सासुका छोराले उपचार गराउने गरेका छन्।” अरुको भरमै बाँच्नुपरेको उनले बताए । पहिलाकी श्रीमती रोगव्याधिका कारण बितेपछि उनले सानावत्तीसँग दोस्रो विवाह गरेका हुन्। “अपाङ्गता भएको थाहा थियो, घर सम्हाल्ने कोही नभएपछि सोनावत्तीसँग विवाह गरेँ”, उनले भने, “दुईपटक बिरामी भएका कारण गर्भमै सन्तान बिते। त्यसपछि सन्तानै भएनन्।”

रामसिंह दमको बिरामी हुन्। थोरै हिँड्दा श्वास फुलेर आउँछ। यसैले काम गर्न सक्दैनन्। उनका श्रीमती शारीरिकरूपमा अपाङ्गता भए पनि खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्नका लागि हातको सहाराले घिस्रेर काम चलाउछिन्।

“शरीरमा थोरै तागत भएका बेला आफैँ काम गर्दै आएका छौँ”, रामसिंहले भने, “बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो निकै चिन्ता छ।” दातृ निकायको सहयोगमा गाउँपालिकाको स्वास्थ्य शाखाले दुवै दम्पतीको अवस्थालाई मध्यनजर गरी घरमै पुगेर कोरोनाविरुद्धका दुई खोप लगाएका छन्। “बिरामी पर्दा गाउँ नजिकै रहेको आधारभूत स्वास्थ्य केन्द्रमा समेत पुग्न सक्दैनौँ।

कहिले छिमेकी गुहार्छौँ, कहिले अन्य कसैबाट औषधि मगाउँछौँ। बिरामीले थला पर्दा टाढाको अस्पताल जान भने सकिँदैन। दिदीको छोराले आफ्नो घर र यहाँ हेर्नुपर्ने भएपछि उसलाई समेत निकै कर गर्न सक्दैनौँ। रोगलाई दबाउँदै बस्नेसमेत गरेका छौँ”, सोनावत्तीले भने, “निकै कष्टकर जीवन बिताउनुपरेको छ, यस्तो कसैलाई नहोस्।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×