काठमाडौँ - दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ। पहिलो दिन देशब्यापी अकुपेन्सी ७० प्रतिशत हारहारीमा रह्यो।
सुखद समीक्षाको कारण फिल्मलाई दोस्रो दिन शनिबारको सार्वजनिक बिदाले राहत दिने देखिएको छ। मल्टिप्लेक्समा शनिबार फिल्मको अकुपेन्सी ६० देखि ९० प्रतिशत हारहारीमा छ। ‘विन्डो सेल’को अनुपात हेर्दा फिल्मको कमाइ अझै उच्च हुनसक्छ।
फिल्म हेरेका दर्शकले यसलाई मनोरञ्जक भनेपनि समीक्षकमाझ फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया छ। मल्टिप्लेक्समा उल्लेखनीय शोज प्राप्त गरेकाले पनि फिल्मको कलेक्सनमा फाइदा पुगेको छ।
प्रस्तुतकर्ता किरण नेपालीले करोडभन्दा बढी हारहारीमा फिल्मले ओपनिङ गरेको बताएपनि फिल्मको आधिकारिक कलेक्सन सार्वजनिक भैसकेको छैन। बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भए फिल्मले दोस्रो सप्ताहन्त पनि आफूलाई अघि लैजान सक्छ।
लोकप्रिय सिरिज ‘कबड्डी ४’का अधिकांश कलाकारहरु कास्ट भएको र ग्रामिण कथावस्तुमा चाख राख्ने दर्शकको स्वादको कारण ‘दुई नम्बरी’लाई दर्शकको साथ मिल्ने आशा छ।