काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा विजयी सुरुवात गरेको छ। शनिबार राति भएकाे खेलमा पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५-० को सानदार जित निकालेकाे हाे।
पिएसजीकाे जितमा लियाेनल मेसीले २, नेयमार, अचरफ हाकिमी र मार्किन्हाेसले १-१ गाेल गरेका थिए। खेलमा पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल भएको थियो।
खेलकाे ९ मिनेटमा नेयमारले गाेल गरी पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। हाकिमीले २६ औँ मिनेटमा गाेल गर्दै पिएसजीकाे अग्रता दाेब्बर पारेका थिए। मार्किन्हाेसले ३८ औँ मिनेटमा गाेल गरी पिएसजीलाई ३-० ले अगाडि बढाए। मेसीले ८० र ८६ औँ मिनेटमा गाेल गरी पिएसजीलाई सानदार जित दिलाएका थिए।
कमजाेर प्रदर्शन गरेकाे क्लेरमन्टले १ गाेल पनि गर्न सकेन। जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ।