काठमाडौँ - सत्य कथामा आधारित गीत ‘झझल्को’ सार्वजनिक भएको छ। गीतमा स्वर मुकेश प्रधानको रहेको छ। शब्दरचना र संगीत पनि मुकेश स्वयंको छ। गीत मुकेसले भोगेको वास्तविक घटनामा आधारित भएको बताइएको छ।
समयअगावै हुने जन्मका कारण थुप्रै बच्चाको मृत्यु हुन्छ। यसरी बच्चाको मृत्यु हुँदा ती शिशुका बाबाआमाले भोग्ने समस्यालाई केन्द्रमा राखेर मुकेसले गीत तयार पारेका छन्।
जिन्दगीको सपना फूलाउन आउँदै गरेका सन्तानको मृत्युले उसका बुवा-आमालाई कति चोट दिन्छ? मुकेशले यसैलाई आधार बनाएर आफूले पाएको पीडा गीतमार्फत उतारेका हुन्।
‘यो गीत मेरो आफ्नै जीवनको कथा हो पीडा लुकाएर बसेको बुवाको कथा हो, जसलाई भुलाउन कुनै हालतमा सकिन्न। जब म उसलाई सम्झिन्छु। म उसको आमालाई हेर्छु। उसले कति धेरै संघर्ष गरेको थियो र कति हतार पनि गरेको थियो यो संसारमा आउन,’ मुकेश क्रेडिटलाइनमा लेख्छन्, ‘तर निकै नै छिटो भयो, बाँच्न नै गाह्रो भयो। कति माया लाग्दो, है ? म उसलाई सधैँ सम्झने गर्दछु। उसलाई नदेखे भन्दैमा ऊ मसँग छैन भन्ने होइन।’
संगीत संयोजन गोपाल रसाइलीको छ। सन्देश शाक्यले भिडियो निर्देशन गरेका छन्। भिडियोमा एलिजा वाइनिक, विकास जोसी, अनु दाहाल, रोसनी स्याङबो, आयान खड्काको थिएटिकल फर्ममा प्रस्तुति देख्न सकिन्छ।