बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै

बैतडी । बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ । पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा खानीको सम्भाव्यता अध्ययनका लागि काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागको टोली सम्भाव्यता अध्ययन गर्न बैतडी पुगेको हो ।

शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेलले बताए । उनले भने, ’वस्तुस्थिति अवलोकन सकेका छौं, सम्भ्याव्यता अध्ययनमा छौं, पहिला फलाम उत्खनन् गरेका ठाउँमा फलाम छ कि छैन भनेर सम्भाव्यता अध्ययन गर्छौं र त्यसपछि जमीनमुनि फलाम रहे नरहेकोबारे अध्ययन हुन्छ ।’

दुई तरिकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने बताउँदै भूगर्भविद् कँडेलले इलेक्ट्रिक एसेसमेन्ट तरिका र म्याग्नेसियम तरिकाबाट अध्ययन हुने जनाए । सम्भाव्यता अध्ययनपछि फलाम भए नभएको थाहा हुनेछ । भूगर्भविद्हरुको टोलीले तयार पारेको प्रतिवेदनपछि फलाम खानी सञ्चालनका लागि थप प्रक्रिया शुरु हुने बताइएको छ । फलाम खानी सञ्चालन गर्न सके पुर्चौडी क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने पुर्चौंडी नगरपालिका–८ वडाध्यक्ष जनकबहादुर बिष्टले बताए । सम्भाव्यता अध्ययनका लागि खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेल नेतृत्वको टोली पुर्चौंडी पुगेको हो ।

उक्त टोलीमा जियोलजिष्ट कृष्ण पाण्डे र प्राविधिक सहायक यज्ञप्रसाद पराजुली पनि रहेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×