ताप्लेजुङ - ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट कराेडौँ रुपैयाँ लुटिएको दाबी गरिएको छ।
आज बिहान ९ बजेर २० मिनेटमा झन्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी कार्यालयबाट झण्डै १ सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको आईएमईबाट रकम र गहना लुटिएको हो।
आईएमईका कर्मचारी आसामाया प्रधानलाई हिजोदेखि आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा फोन आएको थियो। बिहान मास्क लगाएका ४ जना युवाहरु आईएमईमा पसेको कर्मचारी आसामायाले बताइन्। नगद र सुन गरी झन्डै ९ करोड रुपैयाँ बराबर लुटिएको खबरपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
प्रहरीले रकमबारे खुलाएको छैन। जिल्लाका मुख्य नाकामा समेत निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।