काठमाडौँ - आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा सहज जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।
आइतबार भएको एकपक्षीय खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३-० गोलले पराजित गर्यो। ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन विलियम सालिबा, गाब्रियल जिसस र फाबियो भियराले १/१ गोल गरेका थिए।
खेलको १७औं मिनेटमा सालिबाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि २८औं मिनेटमा जिससको गोलमा आर्सनलले २-० को अग्रता बनायो। त्यसपछि खेलको ४९औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाएका थिए।
जितसँगै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ। आर्सनलले ७ खेलमा १८ अंक जोडेको छ। आर्सनलले खेलेका ७ मध्ये १ खेलमा मात्र हार व्यहोरेको छ। ७ खेलमा १७ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ।