कास्की - पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा नगरकोट दोहोरी साँझ काठमाडौं पहिलो भएको छ।
फाइनलमा दरबार दोहोरी साँझ काठमाण्डौलाई हराउँदै नगरकोटले उपाधि जितेको हो। जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भएका छन्। दुवै टिमले बराबर अंक प्राप्त गरेका छन्।
उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र प्रतिष्ठान गण्डकीकी सीता परियार उत्कृष्ट गायिका घोषित भएका छन्। धौलागिरी दोहोरो साँझ ओसाका जापान अनुशासित टिम बन्न सफल भएको छ। जुनेली दोहोरी साँझकी शान्ती कार्कीले नव प्रतिभा पोत्साहन पुरस्कार प्राप्त गरेकी छिन।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी निर्णायकको रुपमा रहेका थिए। कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा आयोजना गरिएको प्रतियोगीतामा देशभरबाट ४५ टिमले प्रतिस्पर्धा गरेका थिए।
विजेता समूहले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता समूहले ४ लाख, तृतिय हुन सफल २ समुहले डेढ-डेढ लाख नगद पुरस्कार प्राप्त गरेका छन।
उत्कृष्ट गायक, गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएकधो छ। नवप्रतिभा पोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार रूपैया प्रदान गरिएको छ। साउन १२ गतेबाट पोखरा सभागृह हलमा सुरु भएको प्रतियोगिता ५ दिनसम्म चलेको थियो।
लोकगायक कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। २००३ साल साउन १२ गते पोखरामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो।