काठमाडौँ - अखिल नेपाल फुटबल संघ(एन्फा) ले १७ करोड ५० लाखमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई फ्रेन्चाइजी विक्री गरेको छ। दुवै पक्षले हिजो एक सम्झौता गर्दै आउँदो ८ वर्षका लागि सम्झौता फ्रेन्चाइजीको सम्बन्धमा हस्ताक्षर गरेको एन्फाले जानकारी दिएको हो।
स्पोर्ट्स एन्ड इभेन्ट मेनेजमेन्ट प्रालिले ढेड वर्षअघि नेपालमा पहिलो संस्करणको नेपाल सुपर लिग आयोजना गरेको थियो। कोभिड-१९ को महामारीका कारण त्यो प्रतियोगितामा दर्शकले प्रत्यक्ष हेर्न पाएका थिएनन्।
त्यसपछि यो प्रतियोगिता आयोजनाका लागि २ पटक मिति तोकिए पनि आयोजना हुन सकेको थिएन। पछिल्लो समय प्रतियोगिता नभएपछि नेपाली खेलाडी विदेशीने क्रम पनि बढिरहेको छ। त्यसैले प्रतियोगिता नभएपछि एन्फाले पनि आलोचना खेपिरहेको थियो। यसअघि एन्फा र सुपर लिगको आयोजकबीच लेनेदेनको अन्योलता भएपछि प्रतियोगिता आयोजना हुन सकिरहेको थिएन।
तर मंगलबार सम्झौता गर्दै आयोजकले एन्फालाई पहिलो संस्करणवापत १ करोड ५० लाख पनि प्रदान गरेको छ। तर अहिलेसम्म प्रतियोगिताको मिति भने तय हुन सकेको छैन्।