काठमाडौँ - आदिल रशिदले भारतविरुद्धको सिरिज र योर्कशायरका लागि टी-२० ब्लास्टका केही खेल गुमाउने भएका छन्। सो अवधिमा उनी हज यात्रामा निस्किने छन्।
उनी मुस्लिम समुदायका हुन् र उनले यो वर्षको सुरुमा तीर्थयात्रा गर्ने निर्णय गरेका थिए। यसका लागि उनले बिदा मागेका थिए, जसलाई इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) र योर्कशायरले स्वीकृत गरिसकेको छ। उनी शनिबार मध्यपूर्व जानेछन्।
सबै वयस्क मुस्लिमहरूले आफ्नो जीवनकालमा कम्तिमा एक पटक तीर्थयात्रा गर्ने गर्दछन्। रशिदले ईएसपीएनक्रिकइन्फोसँग भने, ‘मलाई केही समयदेखि तीर्थयात्रा गर्न मन लागेको थियो। तर, व्यस्तताका कारण समय निकाल्न गाह्रो छ।’
नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय सिरिज ३-० ले जितेपछि रशिदले भने, ‘मैले यसबारे ईसीबी र योर्कशायरसँग कुरा गरेँ र मेरो अनुरोधलाई स्वीकार गरियो।
रशिदको अनुपस्थितिले म्याट पार्किन्सनलाई भारतविरुद्धको सीमित ओभरको सिरिज खेल्ने मौका दिने सम्भावना छ।