पौवादुङमामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

भोजपुर - पौवादुङमा गाउँपालिकाले जिल्लामै पहिलोपटक वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ। गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालिएको हो।

वडा नं ६ ठूलोदुम्मामाकी ९१ वर्षीया मिता राईले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताए। सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकासम्म जान भने धेरै सास्ती हुने गरेको उनको भनाइ छ। उनले भने, “सरकारले दिएको वृद्धाभत्ता बूढेसकालको सहरा बनेको छ। यही भत्ताले दैनिक जीवनयापन गर्दै आएकी छु तर भत्ता लिन जान निकै समस्या थियो। गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ। आउन जान नै मलाई समस्या छ। अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित छु।”

बैंकमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नुपरेको उनले अनुभव सुनाए। राईले भने, “बैंकमा पुगेर आफ्नो भत्ता लिन निकै समस्या थियो। बुढौली ज्यान हिँडेर जान समस्या। सवारी साधन रिजर्भ गर्दा धेरै खर्च हुन्छ। हामीजस्ता बूढाबूढी देखेपछि बसवालाले पनि ठग्न खोज्छन्। त्यसमाथि बैंकमा गएर लाइन बस्नुपर्दा धेरै कष्ट हुन्थ्यो। अब भने धेरै सहज भएको छ।”

गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलवासी भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो। खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। उनले भने, “गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा उनीहरुलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण थालेका हौँ। ज्येष्ठ नागरिक तथा अशक्तलाई यहाँ आउन अत्यन्तै समस्या छ। यो कार्यलाई चौमासिकरुपमा सबै वडामा सञ्चालनमा ल्याएका छौँ। अब उनीहरुले आफ्नो घर पायक पर्ने ठाउँबाट भत्ता पाउनु हुन्छ।”

हालसम्म गाउँपालिकाभरि एक हजार चार सय ७१ जनाले भत्ता पाउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। कार्यपालिकाको निर्णयअनुसार बैंक तथा सुरक्षा निकायसँग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको उनको भनाइ छ। उनले भने, “खासमा उनीहरुलाई भत्ता लिनको लागि आउन हुने समस्यालाई ध्यानमा राखेर कामको थालनी गरेका छौँ। वृद्धवृद्धा तथा अशक्तलाई त यहाँ आउन धेरै कठिन छ। नागरिकको यहाँसम्म आउँदा यातायातलगायतमा खर्च हुने, विभिन्न झन्झट हुने समस्याको अन्त्य भएको छ।”
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×