काठमाडौँ । बागलुङका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको हो। बागलुङ नगरपालिका तथा काठेखोला र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने केन्द्रले जनाएको छ। पहिलो चरणमा बागलुङ नगरपालिकामा आगामी माघ १५ गतेदेखि अभियान सञ्चालन हुँदैछ। पशुचौपायामा देखिने खोरेत, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइनफिबरलगायतका खोप लगाइने पशु स्वास्थ्य अधिकृत केशव शर्माले जानकारी दिए।
यी रोगका कारण किसानले बर्सेनि क्षति बेहोर्दै आएका छन्। हरेक वर्ष पशु उत्पादनमा भइरहेको क्षतिको न्यूनीकरणका लागि पूर्ण खोप अभियान सञ्चालन गर्न लागिएको हो। तीन पालिकामा फरक फरक समयमा खोप अभियान सञ्चालन हुने शर्माले बताए। “बागलुङ नगरपालिकामा अभियान सञ्चालनका लागि पहिलो चरणमा गोष्ठी सम्पन्न भएको छ”, शर्माले भने, “माघ महिनाभरिमा नगरभरिका पशुचौपायालाई खोप लगाइसक्ने गरी योजना बनेको छ।” हरेक वर्ष पशुलाई लगाउनुपर्ने खोप नपाएका कारण रोगबाट पशुचौपाया प्रभावित हुने गरेका छन्।
बङ्गुर, बाख्रा र भैँसीमा देखिने रोगले किसान आजित छन्। सबै पशुलाई खोप निःशुल्क लगाइने भएकाले अभियान सञ्चालन भएका बेला खोजीखोजी खोप लगाउन विज्ञ केन्द्रले अनुरोध गरेको छ। यो अभियान बागलुङमा पहिलोपटक सुरुआत भएको हो। अभियानअन्तर्गत ४० हजार ठूला पशु र २५ हजार साना पशुलाई खोप लगाउने लक्ष्य केन्द्रको छ।