मोरङ - विराट राजवंशी समुदायको खानपान, पहिरन, भाषा र संस्कृति संरक्षणका लागि विराटनगरमा 'विराट राजवंशी महोत्सव' गरिने भएको छ। विराट राजवंशी प्रगतिशिल विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चैत ५ देखि १५ गतेसम्म विराटनगर-५ आयोजना हुने महोत्सवमा आफ्नो समुदायको मौलिक खानपान, वेषभुषा र संस्कृतिक झाँकी प्रदर्शन गरिने जनाएको हो।
समाजका अध्यक्ष किरण राजवंशीले आदिवासी समुदायका रुपमा राजवंशीको संस्कृति पश्चिमा संस्कृतिले अतिक्रमण गर्दै लगेकाले संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गर्न लागिएको बताए। महोत्सवमा मौलिक खानपान, पहिरनलगायत बालबालिका तथा युवाको मनोरञ्जनका लागि झुला, रोटेपिङ र सांस्कृतिक कार्यक्रमलगायत कार्यक्रमका लागि ६० वटा कक्ष रहने उनले जानकारी दिए।
महोत्वमा नेपाली तथा राजवंशी भाषाका चर्चित कलाकार सुगम पोखरेल, शिव परियार, इन्दिरा जोशी, प्रमोद खरेल, मेलिना राई, प्रवलदीप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नुहुने समाजका सचिव गोपी राजवंशीले बताए। नेपाल तथा सीमावर्ती भारतीय शहरबाट ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र ५० लाख बराबरको कारोबार हुने विश्वास लिइएको र महोत्वसवका लागि उक्त समुदायबाट ३० लाख संकलन गरिएको जानकारी गराइयो।