यस्ता छन् बागलुङका नवनिर्वाचित जनप्रतिनिधिका पहिलो निर्णय

बागलुङ - यहाँका दशवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शपथ र पदभार ग्रहण गरेका छन्। पदभार सम्हाल्लेसँगै उनीहरुले लोकप्रिय निर्णय र प्रतिबद्धता सार्वजनिक गरेका छन्।

कति घोषणा स्थानीय तहको दीर्घकालीन विकाससँग सम्बन्धित छन् त कतिपय सार्वजनिक सेवा प्रवाहसँग जोडिएका। केही जनप्रतिनिधिले चुनावअघि मतदातासामु गरेका मुख्य प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेका छन्।

ताराखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धनबहादुर विकले पदभार ग्रहणसँगै दुई महत्वपूर्ण निर्णय गरेका छन्। उनले आफुले पाउने सबै तलबभत्ता सहिद, बेपत्ताजनका परिवार, अपाङ्गता भएका व्यक्ति र असहायका लागि खर्चने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष विक आफैँ पनि विगतको जनयुद्धका ‘घाइते योद्धा’ हुन्।

तलबभत्ताको रकमबाट सामाजिक सुरक्षा कोष खडा गरी सहायता वितरण गरिने अध्यक्ष विकले बताउनुभयो। “मेरो तलबभत्ताबाट एउटा सामाजिक सुरक्षा कोष खडा गर्नेछु, यसबाट सहिद, बेपत्ताजनका परिवार, अपाङ्गता भएका व्यक्ति र असहायका लागि खर्चने निर्णय गरेको छु”, उनले भने। 

अध्यक्ष, उपाध्यक्ष र पाँचै वडाका वडाध्यक्षको उपस्थितिमा बसेको कार्यपालिका सरहकै बैठकले उक्त निर्णय गरेको हो। चुनाव प्रचारका सिलसिलामा पनि अध्यक्ष विकले आफू निर्वाचित भए तलबभत्ता नलिने घोषणा गरेका थिए। 

यस्तै बाँझो जग्गामा व्यावसायिक खेती गरी उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष विकले जानकारी दिए। चुनावअघि गरिएका प्रतिबद्धता पूरा गर्न प्राथमिकताका आधारमा बजेट र कार्यक्रम ल्याउने उनको भनाइ छ। 

बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पदभार ग्रहणसँगै आगामी एक वर्षभित्रमा बागलुङलाई बालमैत्री नगर बनाउने घोषणा गरेका छन्। 

उनले भौतिक मात्र नभएर सामाजिक विकासका क्षेत्रलाई पनि नगरले उत्तिकै प्राथमिकता दिने बताए। “भौतिक मात्र होइन, सामाजिक विकास पनि नगरको दायित्व हो”, उनले भने। 

प्रमुख श्रेष्ठले बालमैत्री नगर घोषणका लागि आवश्यक पूर्वाधार, व्यवस्थापकीय तयारी, सामाजिक परिचालनलगायतका कामलाई तत्कालै अगाडि बढाइने उल्लेख गरे। जैमिनी नगरले भने सेवा प्रवाहलाई छरितो र चुस्त बनाउन नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ। 

जैमिनीका नवनिर्वाचित प्रमुख नरबहादुर पुनले पदभार सम्हाल्दै तत्काल नागरिक सहायताकक्ष निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन्। सेवाग्राहीको हितलाई हेरेर पहिलो निर्णय नै नागरिक सहायताकक्ष स्थापनाका लागि गरिएको नगरले जनाएको छ। 

यहाँका अरु स्थानीय तहका जनप्रतिनिधि भने कार्यपालिका गठनपछि बस्ने पहिलो बैठकबाट आवश्यक निर्णय लिने तयारीमा छन्। 

तमानखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जोकलाल बुढाले मङ्गलबार कार्यपालिकाको पहिलो बैठक बस्न लागेको बताए। “कार्यपालिका बैठकबाट मात्र हामी पहिलो निर्णय लिन्छौँ”, उनले भने। 

गलकोट नगरका नवनिर्वाचित प्रमुख भरत शर्मा गैरेले महत्वकांक्षीभन्दा पनि पहिलेका अधुरा योजनालाई पूरा गर्नतर्फ आफ्नो ध्यान जाने बताए। उनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई जोड दिइने उल्लेख गरे। 

मतदाता रिझाउन नयाँनयाँ प्रतिबद्धता र आश्वासन देखाएर चुनाव जितेका जनप्रतिनिधिहरूको अग्निपरीक्षा सुरु भएको देखिन्छ। उनीहरुले मतदातासामु गरेका वाचा कति पूरा गर्छन्, गर्दैनन् त्यो हेर्न भने पाँच वर्ष कुर्नैपर्ने हुन्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×