काठमाडौँ - पछिल्लो समय पर्वतका विकट गाउँमा टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ।
पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा चार भञ्याङ सेवा केन्द्रले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको हो। वषौंदेखि जनशक्तिको अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित रहेका दुर्गमका नागरिकलाई लक्षित गरी वैकल्पिक माध्यमबाट दिइने चिकित्सकीय सेवा (*टेलिमेडिसियन) सुरु गरेपछि उनीहरुले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार पाएका हुन्।
ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट नेपालका काठमाडौँ, पोखरा तथा बेलायतमा रहेका विदेशी विशेषज्ञ चिकित्सकले स्वस्थ्य सेवा दिन थालेपछि यहाँका नागरिक खुसी भएका छन्। अहिले उक्त सेन्टरमा बिरामीको भीड लाग्न थालेको छ। हाल स्वास्थ्य केन्द्रबाट क्षारे, मानसिक समस्या, पिसाब, छालारोग र नशाका जटिल समस्याभएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञबाट स्वास्थ्य सेवा लिइरहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रका प्रमुख रोशन गुरुङले जानकारी दिए।
केन्द्रले इन्टरनेटको माध्यमबाट स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र ती डाक्टरको सल्लाहमा औषधि उपचार हुने गरेको हो । विगत २०६८ सालमा स्थापना भएको यो केन्द्रबाट हालसम्म करिब २३ हजार बिरामीको उपचार गरिएको छ। यहाँबाट २०० भन्दा धेरै बिरामीलाई सम्बन्धित विशेषज्ञ चिकित्सकलाई बाहिर पठाई उपचार गरिएको छ।
यो संस्थामा विश्वका करिब ७०० भन्दा बढी चिकित्सकबाट सेवा प्रवाह भइरहेकोे गुरुङले जानकारी दिए।