काठमाडौँ - कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका लागि ऋषि सुनक र लिज ट्रसबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। यो निर्णय कन्जरभेटिभ सांसदहरू बीचको अन्तिम चरणको मतदानमा लिइएको हो।
पाँचौं चरणको मतदानमा ऋषि सुनकले सर्वाधिक १३७ मत प्राप्त गरे भने लिज ट्रसले ११३ मत प्राप्त गरिन्। तेस्रो स्थानमा रहेकी पेनी मोर्डेन्टले १ सय ५ मत प्राप्त गरिन्। यसरी मोर्डेन्ट यस दौडबाट बाहिर भइन्। यसअघि मंगलबार भएको चौथो चरणको मतदानमा सुनकले ११८ र लिज ट्रसले ८६ मत पाएका थिए।
अब दुवै उम्मेदवारबीच २५ जुलाईमा बीबीसीमा वान टु वान बहस हुनेछ। यससँगै कन्जरभेटिभ पार्टीका देशभरका १ लाख ६० हजार सदस्यबाट हुलाक मतपत्रमार्फत भोट हालेर नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुनेछ।