काठमाडौँ - वरिष्ठ कलाकार सन्तोष पन्तद्वारा निर्मित नेपाली फिल्म ‘हिजो आजका कुरा’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ। साकार पन्तद्वारा निर्देशित यो फिल्मको २ मिनेट ४५ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक जीवनमा आउने उताव चढाव, संघर्ष, जिम्मेवारी, कर्तव्य तथा वर्तमान समयको वास्तविकतालाई दर्शाइएको छ।
कार्यक्रममा कलाकार सन्तोष पन्तले आफूले १२ वर्षसम्म टेलिभिजनमा सञ्चालन गरेको लोकप्रिय टेलिश्रृंखला ‘हिजो आजका कुरा’ को शाखलाई फिल्मले अझ सशक्त रुपमा बिउँत्याउने विश्वास ब्यक्त गरेका छन्। उनले फिल्ममा धेरै कुराहरु समावेश गरिएकाले सबैलाई हेर्न आग्रह गरेका छन्।
अभिनेत्री रमा थपलियाले ‘हिजो आजका कुरा’ निकै मेहनत गरेर बनाइएकाले दर्शकले पुनः एकपटक ठूलो पर्दामा पनि उत्तिकै मन पराउने बताउँदै विसुद्ध नेपालीपनको फिल्मलाई सबैले माया गर्नुपर्ने धारणा राखेकी छिन्।
निर्देशक साकार पन्तले फिल्म पारिवारिक कथामा निर्माण गरिएको जनाउँदै आमदर्शकको माया पाउनेमा आफूहरु ढुक्क रहेको बताएका छन्। उनले कोभिड अघि नै प्रदर्शन हुनुपर्ने फिल्म अब चाडपर्वको माहौलमा दर्शकमाझ ल्याउन लागेको जानकारी दिएका छन्।
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो फिल्म असोज २८ गतेदेखि देशभर प्रदर्शन हुदैछ। ट्रेलर सार्वजनिक गर्ने समारोहमा केही समयअघि युट्युबमार्फत सार्वजनिक गरिएको ‘परदेश’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो। गीतले फिल्मको कथाको बहावलाई अझ पेचिलो बनाएको निर्देशक साकारले बताएका छन्।
कार्यक्रममा अभिनेत्री ऋचा शर्मा र रिमा बिश्वकर्माले आफूहरु ‘हिजो आजका कुरा’ को सदस्य बन्न पाउँदा खुशी लागेको बताएका छन्। ऋचाले बच्चा बेलामा धनगढीमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनमा हरेक शुक्रबार टेलिश्रृंखला ‘हिजो आजका कुरा’ हेरेको स्मरण गर्दै अहिले ठूलो पर्दामा सोही नाममा अभिनय गर्न पाउँदा आफूलाई अत्यन्त भाग्यमानी ठानेको सुनाइन्।
अभिनेता दिब्यदेवले ‘हिजो आजका कुरा’ मनोरञ्जनका साथमा सन्देशमुलक समेत रहेको बताउदै आफूले पाएको भूमिकामा न्याय दिने कोसिस गरेको दावी गरेका छन्। अभिनेत्री जेबिका कार्की र यही फिल्मबाट डेब्यु गरेकी अनुष्का अधिकारीले पनि आफूहरुको अभिनय यात्रामा ‘हिजो आजका कुरा’ विशेष रहेको बताएका छन्।
हास्य कलाकारको रुपमा परिचित सविन श्रेष्ठले आफूहरुले निकै मिहिनेतका साथ काम गरेकाले दर्शकको मन जित्ने आशा व्यक्त गरेका छन्। पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको रहेको छ।
रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र ।हेका छन्।
फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय रहेको छ।
फिल्मको वितरण बिके फिल्मस् र एफडिले गर्दैछन्।