संसदको हिँउदे अधिवेशन आजदेखि शुरू हुँदै, मुख्य एजेण्डा 'विधेयकमै केन्द्रित' रहने

काठमाडौं । संसदको हिँउदे अधिवेशन आजदेखि शुरू हुँदै शुरू हुँदैछ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि शुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अधिवेशनका लागि समग्र व्यवस्थापनका पाटोबाट सबै तयारी पूरा भएको जानकारी दिए।

सभामुख सापकोटाले भने,“सदन सहमतिका साथ अधि बढाउन मैले तटस्थ, स्वतन्त्र र निष्पक्षरुपमा संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर काम गर्न प्रतिबद्ध छु । यस सम्बन्धमा जनतालाई प्रष्ट पार्दै लगेको छु, कहीँकतै अस्पष्टता भएमा व्यवहार र कामबाटै प्रष्ट हुनेछ । ”

सदनमा दलकै भूमिका निर्णयक हुने भएकाले खेलमा अम्पायर जस्तै सभामुखका हैसियतले सदन सुचारु भएपछि समन्वय र सहजीकरणको भूमिका देखिँदै जाने बताए । उनले भने , “संविधान, कानूनले निर्दिष्ट गरेअनुरुप समन्वय र सहजीकरण गर्दै सदन अघि बढ्छ । प्राप्त भूमिका अनुसार कार्यव्यवस्था र दलको बैठक डाकेर सदन सुचारु गर्न हरसम्भव प्रहल र प्रयत्न हुनेछ ।”

नेकपा (एमाले)का सांसद गणेश पहाडी स्वभाविकरुपमा हिँउदे अधिवेशनमा विधेयककैै विषयमा केन्द्रित रहेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिए ।

उनले भने,“हिउँदे भन्ने वित्तिकै विधेयक अधिवेशन हो, संसद्मा पहिलेदेखिनै धेरै विधेयक थुप्रेर बसेका छन् । ती विधेयकलाई टुङ्गोमा पुर्याउनु पर्नेछ, संसद्मा टेबल भएका अरु विधेयकमाथि छलफल गर्न पर्नेछ ।” संसद् मङ्गलबारबाट सुरु हुन लागे पनि कार्यव्यवस्थाको बैठक बसेर प्रमुख प्रतिपक्षसँग सदन सञ्चालन गर्ने र एजेण्डा तय गर्ने भन्ने सन्दर्भमा कुनै सरल्लाह र छलफल नभएको बताउँदै नेता पहाडीले यस हिसाबले सत्तापक्ष फेरि पनि एकपक्षीय ढङ्गले सदन चलाउन खोज्छ कि जस्तो भान भएको प्रतिक्रिया दिए ।

संसदीय व्यवस्था भएका मुलुकमा संसद् भनेको प्रतिपक्षको हो भन्ने पक्षलाई हेक्का राख्न जरुरी भएको उनले बताए।

सांसद पहाडीले सदनलाई कसरी नियमितरुपमा अघि बढाउने भन्ने सन्दर्भमा सत्तापक्ष र सभामुखले सहमतिका आधारमा नियमित तुल्याउन मुख्यरुपमा पहल र अग्रसरता लिनुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले समयमा कानुन नबन्दा अनेकौ व्यवधान भएकाले संसद्को यो नियमित हिउँदे अधिवेशनलाई कानुन निर्माणमै केन्द्रित तुल्याउन आवश्यक रहेको बताए ।

सदन सञ्चालन भए पनि मुलुकका जल्दाबल्दा विषय एमसिसी र न्यायालयलयसँग जोडिएर आएका प्रश्नका विषय छलफलका लागि स्वभाविक रुपमा प्रवेश पाउने बताउँदै राष्ट्रियसभा सदस्य विडारीले संविधानको मर्म र भावना अनुरुप कानुन निर्माणमै सदनलाई केन्द्रित तुल्याउनुपर्ने धारणा व्यक्त गरे ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले कोभिड–१९ को अहिले जोखिम कम देखिए पनि नयाँ भेरियन्टकाकारण उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिइने जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन मङ्ङगलबार दिनको २ बजे बस्ने गरी यही मङ्सिर १७ गते आह्वान गरे ।

यसअघि संसद् भवन परिसरमा सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले कोभिड–१९ एन्टिजेन परीक्षण गराएका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×