पुष्पलाल राष्ट्रिय ब्याडमिन्टनलाई लिनिङको साथ

काठमाडौँ - एघारौँ पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ।

प्रतियोगितालाई लिनिङले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए। लिनिङले मुख्य प्रायोजन गर्ने भएपछि अब प्रतियोगिताको नाम ‘लिनिङ ११औँ पुष्पलाल स्मृति र्याङकिङराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आएको छ।उक्त  प्रतियोगितालाई नखिपोट युथ क्लब–ब्याडमिन्टन सर्कलले साथ दिँदै संयुक्त आयोजकका रूपमा आफूलाई उभ्याएको छ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव सुनिलमान शाक्यले जानकारी दिए। ललितपुरको नखिपोटमा उक्त प्रतियोगिता आगामी फागुन ३ देखि ७ गतेसम्म सञ्चालन हुनेछ। नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० भन्दा बढी  खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरियतामा १६औँ स्थानसम्मका), पुरुष एकल (१६औँ बरियतादेखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरियतामा १२औँ स्थानसम्मका ), महिला एकल (१२औँ वरियतादेखि बाहेकका), महिला युगल (खुला), यू–१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्षमाथि, मास्टर्स ५५ वर्षमाथि (खुला) गरी १० विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

कूल रु. २१ लाख ६० हजार खर्च हुने उक्त प्रतियोगितामा पुरस्कारतर्फ रु. पाँच लाख ९८ हजार खर्च हुने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×