काठमाडौँ - फिल्म ‘काली’को पोस्टर सार्वजनिक भएसँगै विवादमा परेको छ। हिन्दु देवी कालीको पहिरन लगाएकी महिलाले चुरोट पिइरहेको पोस्टर र भिडियोलाई लिएर विवाद चर्किएको हो। लीना मणिमेक निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा देवीले चुरोट तानिरहेको चित्रण गरिएपछि विवाद सिर्जना भएको हो।
फिल्मको पोस्टरमा कालीले एक हातमा एलजीबीटी समुदायको सप्तरंगी झण्डा पनि देखाइएको छ। पोस्टर विवादित भएपछि यो विषय प्रहरीमा समेत पुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उजुरी दर्ता भएपछि दिल्ली प्रहरीको आईएफएसओ युनिटले काली फिल्मको विवादित पोस्टरको विषयमा एक्सन लिएको छ। प्रहरीले फिल्मी निर्देशक लीना मणिमेकलाई यसविरुद्ध धर्म र जाति समुदायको भावनामाथि आघात पुर्याएको आरोपमा मुद्दा दर्ता गरेको छ।
उनलाई बोलाएर आवश्यक सोधपुछ गर्ने तयारी भइरहेको समाचारमा जनाइएको छ। फिल्म निर्माता तथा निर्देशक लीनाले जुलाई २ मा आफ्नो डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टर सेयर गरेकी थिइन्। त्यसलगत्तै पोस्टर विवादमा आएको थियो।
यस विषयमा लीनाले भनेकी छन्, ‘फिल्म एक यस्तो घटनामा आधारित छ, मुख्य पात्र घुम्दै जाँदा काली प्रकट हुन्छिन् र टोरन्टोको सडकमा टहलिन्छिन्। यो कथालाई आपत्ति मान्नुपर्ने केही छ जस्तो लाग्दैन।’