काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गुर्जोलगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको छ ।
कोरोनामा गुर्जोलगायत जडिबुटीले राम्रो गरेको अनुभव भएपछि धेरैको आकर्षण यसतर्फ बढेको हो। विसं २०७६ चैतमा नेपालमा कोरोना भाइरस भेटिएपछिदेखि नै मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोलगायत जडिबुटी मिसिएको पोका निःशुल्क वितरण गर्दै आएका आन्तरिक राजश्व कार्यालयमा कार्यरत कमलबहादुर राजलवटले यसपटक पनि अभियानलाई तीव्रता दिएका छन्। हाल ४० जिल्लाका १२० स्थानबाट निःशुल्क गुर्जोलगायत करिब ६० जडिबुटी मिसिएको धुलो वितरण भइरहेको उनले बताए।
नेपालमा पहिलोपटक कोरोना देखिँदा आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत उनले त्यसबेलादेखि नै देशभर निःशुल्क जडिबुटीको धुलो वितरण शुरु गरेका हुन्। कार्यालय सरुवा भएर काभ्रपलाञ्चोकको धुलिखेलमा आएपछि पनि उनले जडिबुटीको धुलो वितरणलाई निरन्तरता दिएका छन्।
गुर्जोकोमात्र धुलो वितरण गरेर अभियान शुरु गरेका राजलवटले कोरोनाको दोस्रो लहरका बेला ४८ जडिबुटीको धुलो बनाएर वितरण गरेका थिए।