पाँच महिना बित्दा पनि गण्डकीको पुँजीगत खर्च १० प्रतिशत मुनि

पोखरा । चालु आर्थिक वर्ष २०८२–८३ सुरु भएको पाँच महिना बितिसक्दा पनि गण्डकी प्रदेश सरकारको पुँजीगत बजेट खर्च १० प्रतिशतभन्दा तल सीमित देखिएको छ। अर्थ मन्त्रालयका अनुसार पुस ६ गतेसम्म पुँजीगत खर्च जम्मा ९.६२ प्रतिशत मात्रै भएको हो।

प्रदेश सरकारले यस आर्थिक वर्षका लागि ३१ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको छ, जसअन्तर्गत पुँजीगत शीर्षकमा १९ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर हालसम्म पुँजीगततर्फ करिब १ अर्ब ८३ करोड रुपैयाँ मात्र खर्च भएको मन्त्रालयले जनाएको छ।

समग्र बजेट खर्च हेर्दा कुल बजेटको १२.२३ प्रतिशत मात्रै खर्च भएको छ। चालु खर्चतर्फ भने तुलनात्मक रूपमा केही प्रगति देखिएको छ। १२ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको चालु शीर्षकमा हालसम्म २ अर्ब ७ करोड ५३ लाख रुपैयाँ खर्च भइसकेको छ, जुन १६.४२ प्रतिशत हो।

वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन भए पनि हालसम्म कुनै खर्च भएको छैन। यद्यपि आम्दानीतर्फ भने ३० अर्ब रुपैयाँ नाघिसकेको छ। पाँच महिनामा प्रदेश सरकारको ढुकुटीमा १० अर्ब १४ करोड ३८ लाख रुपैयाँ जम्मा हुँदा खर्च भने ३ अर्ब ९१ करोड १८ लाख रुपैयाँमा सीमित रहेको अर्थ मन्त्रालयले जनाएको छ।

पुँजीगत खर्चको सुस्त गतिले विकास आयोजना कार्यान्वयनमा ढिलाइ हुने र आर्थिक गतिविधि प्रभावित हुने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×