काठमाडौँ। बलिउड अभिनेत्री जाह्नवी कपूरको भोलि (मार्च ६) मा जन्मदिन रहेको छ। चलचित्र ‘धडक’बाट बलिउडमा प्रवेश गरेकी जाह्नवीले त्यसपछि धेरै चलचित्रमा काम गरिसकेकी छिन्।
सामाजिक सञ्जालमा सक्रिय रहने जाह्नवीलाई सञ्जालमा पछ्याउनेहरु पनि धेरै छन्। जाह्नवी चलचित्र जगतमा आमा जस्तै ख्याती कमाउन चाहन्थिन्। तर, उनकी आमा श्रीदेवी छोरीलाई डाक्टर बनेको हेर्न चाहन्थिन्।
जाह्नवीका पिता बोनी कपूर कहिल्यै पनि छोरीका सपनामा अड्चन बनेनन्, तर आमा श्रीदेवी भने छोरीलाई चलचित्रभन्दा पनि पढाईमा ध्यान दिएको हेर्न चाहन्थिन्। उनी छोरी एउटा असल डाक्टर बनुन् भन्ने चाहन्थिन्।
तर, जाह्नवी आमा श्रीदेवी झैँ बलिउडको सुपरस्टार बन्न चाहन्थिन्। यो उनको बाल्यकालदेखि कै सपना र चाहना थियो। जाह्नवीले चलचित्र ‘धडक’बाट चलचित्र क्षेत्रमा पाइला राखेपनि उनको अभिनय उनकी आमाले हेर्न पाइनन्। किनकी चलचित्र प्रदर्शनमा आउनुअघि नै श्रीदेवीको निधन भएको थियो।