काठमाडौँ - घरेलु टोली यूएईविरुद्धको अन्तर्राष्ट्रिय टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा बंगलादेश विजयी भएको छ। ऊ गएरातिको खेलमा ७ रनले विजयी भएको हो।
१ सय ५९ रनको लक्ष्य पछ्याएको यूएईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनाउन सक्यो। उसका लागि चिराग सुरीले सर्वाधिक ३९ रनको योगदान दिएका थिए।
आयन अफ्जल खानले २५,आर्यन लाक्राले १९, वृत्य अरविन्दले १६, मोहम्मद वासिमले १५, कार्तिक मेइयाप्पनले १२ तथा जुनैद सिद्दिकीले ११ रन जोडेका थिए। बंगलादेशका लागि सोरिफुल इस्लाम र मेहदी हसनले ३/३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिएका थिए। २ विकेट रन आउटको रूपमा प्राप्त भएको थियो।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। उसका लागि अफिफ हुसेनले ५५ बलमा ७ चौका र ३ छक्कासहित अविजित ७७ रनको पारी खेलेका थिए।
कप्तान नुरुल हसनले अविजित ३५, लिटन दासले १३ र मेहदी हसनले १२ रनको योगदान दिएका थिए। यूएईका लागि कार्तिक मेइयाप्पनले ३ तथा सबिर अली र आयन अफ्जल खानले १/१ विकेट लिए।
यो जितसँगै बंगलादेशले २ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। बंगलादेश र यूएईबीचको दोस्रो तथा अन्तिम खेल भोलि हुनेछ।