गीतकार दिनेश अधिकारीले पाए अरुण थापा स्मृति सम्मान

काठमाडौँ - कवि एवं गीतकार दिनेश अधिकारीले यस वर्षको ‘अरुण थापा स्मृति सम्मान २०७९’ पाएका छन्। २३ औं अरुण थापा स्मृति दिवसको अवसर पारेर भक्तपुर सांगीतिक समाजले शनिबार कवि एवं गीतकार अधिकारीलाई उक्त सम्मान प्रदान गरेको हो।

समाजले भक्तपुरस्थित अक्सफोर्ड इङ्गलिस स्कुलमा आयोजना गरेको अरुण थापा स्मृति दिवस मा वरिष्ठ संगीतकार दीपक जंगमले गीतकार अधिकारीलाई दोसल्ला ओढाउँदै उक्त सम्माज वितरण गरेका थिए।

कार्यक्रममा भक्तपुरका कलाकारहरु सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, अधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व. थापाका गीतहरु प्रस्तुत गरेका थिए।

त्यसैगरी वाद्यवादनमा कृष्णसुन्दर सुजखू, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य, विजय बज्राचार्य र यजु आचार्यले साथ दिएका थिए।

देशप्रेमले ओतप्रोत ‘करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल’ बाट सुरु भएको स्मृति दिवसमा ‘लाग्न थाल्यो जीवनमा’, ‘आँखाको निद चोरी लाने’, ‘भुलेका कथा तीतामीठा’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘चोट के हो, व्यथा के हो’, ‘जति माया लाए पनि’, ‘पग्लेर जाने हिउँ म हैन’, ‘म रोए पनि तिमी हाँसिदिनु’ जस्ता थापाका चर्चित एवं कम सुनिएका गीतहरु प्रस्तुत गरिएको समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिएका छन्।

कार्यक्रममा वरिष्ठ संगीतकार जङ्गमले नेपालमा मरेपछि सम्मान दिने र कृतिप्रति चासो दिने गलत परम्परा रहेको औंल्याएका छन्। नेपालमा जनता र सरकारबाट अझै पनि कलाकारको सही पहिचान हुन नसकेको उनको भनाइ रहेको थियो।

प्राज्ञ ध्रुव मधिकर्मीले सम्मानित श्रष्टा अधिकारीको गीत र कविताका विविध पक्षबारे चर्चा गरेका थिए। वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले कार्यक्रम सञ्चालन गर्दै अरुण थापाका जीवनका विविध पाटा र गीत-संगीतसँग सम्बन्धित घटनाबारे चर्चा गरेका थिए।

कोरोना महामारीका कारण विगत २ वर्ष औपचारिकतामा सीमित स्मृति दिवस यस वर्ष बृहत रुपमा गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×