काठमाडौँ - विपक्षी खेलाडीलाई पछाडिबाट डरलाग्दो ट्याकल गर्दा जापानी खेलाडी सोयाले मैदान छिरेको २० सेकेन्डमै रातो कार्ड पाए। उनले मैदानमा एकपटक पनि बल छुन पाएनन्।
जापानका अन्तर्राष्ट्रिय खेलाडी सोया नाकाजिमा टर्किस क्लबमा हालै मात्र आबद्ध भएका थिए। सोया पोर्चुगाली क्लब एफसी पोर्टोबाट अनुबन्धित भएका थिए। टर्किस क्लब अन्ताल्यास्पोरबाट उनको शनिबार पहिलो खेल थियो। टर्किस क्लब अन्ताल्यास्पोरले लिगमा अडना डेमिस्पोरविरुद्ध प्रतिस्पर्धा गरेको थियो। यसै खेलमा सोयाले डेब्यु अवसर पाएका थिए। तर, सोयाको डेब्यु सम्झनलायक भएन। उनी मैदान छिरेको केवल २० सेकेन्डमै रातो कार्ड सामना गरे।
सोयाले विपक्षी खेलाडीलाई पछाडिबाट ट्याकल गरेका कारण रेफ्रीले सीधै रातो कार्ड देखाएका थिए। अन्ताल्यास्पोरसँग २ वर्ष सम्झौता गरेका सोयाले आफ्नो डेब्यु कहिल्यै पनि बिर्सन नसक्ने जनाएका छन्। रातो कार्ड व्यहोर्नुअघि उनले एकपटक पनि बल छुन पाएका थिएनन्। बललाई एकपटक पनि टच नै नगरी उनले रातो कार्ड पाएका थिए।
फुटबल इतिहासमा मैदानमा बल नै नछोईकन रातो कार्ड पाउने खेलाडी थोरै छन्। यो खराब इतिहासमा सोयाले पनि आफ्नो नाम दर्ता गराएका छन्। प्रतिस्पर्धामा घरेलु टोली अन्ताल्यास्पोर १-० ले पछाडि थियो।
खेलको ५९औँ मिनेटमा सोया मैदानभित्र प्रवेश गरेका थिए। अन्ताल्यास्पोरका प्रशिक्षकले उनलाई मैदानमा छिराउँदै खेल बराबरी गर्ने योजना बनाएका थिए। तर, जापानिज राष्ट्रिय टोलीका विंगरसमेत रहेका सोयाले क्लब तथा प्रशिक्षकको मन जित्न सकेनन्। रेफ्रीले आफ्नो निर्णयमा भारको प्रयोग गरेका थिए।
टेलिभिजन रिप्लेमा समेत सोयाको ट्याकल नियतवश नै देखिएको थियो। यसै कारण रेफ्रीको निर्णय सही थियो। टेलिभिजन रिप्लेमा सोयाले विपक्षी खेलाडीको ‘एंकल’मै ट्याकल गरेका थिए। यसै कारण उनले रातो कार्ड पाएका हुन्। रेफ्रीको निर्णसँगै सोया मन्द मुस्कानसहित मैदानबाट बाहिरिएका थिए। उनले केही पनि प्रतिक्रिया जनाएनन्।
यस खेलमा अन्ताल्यास्पोर ३-० ले पराजित भएको थियो।