काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज समूह ‘बी’ मा रहेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा मधेस प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ।
लुम्बिनी र पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा तथा मधेस प्रदेश र प्रदेश-१ को खेल मूलपानी मैदानमा हुनेछ। दुवै खेल अहिले साढे ९ बजेदेखि सुरु हुनेछन्।
समूह ‘ए’ मा समान २ खेलमा ४ अंकका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन्। समान १ खेलमा अंक जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र २ खेलमा अंक नजोडेको सुदूरपश्चिम पुछारमा छ।
त्यस्तै, समूह ‘बी’ मा २ खेलमा ४ अंककासाथ पुलिस क्लब शीर्ष र १ खेलमा २ अंक रहेको लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको छ। २ खेलमा दुई अंक रहेको प्रदेश-१ तेस्रो र ३ खेलमा अंक जोड्न नसकेको बाग्मती पुछारमा रहेको छ।
आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश-१ रहेका छन्।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। यस्तै, उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।