काठमाडौँ - एसिया कप छनोटको पहिलो खेलमा हङकङले सिंगापुरलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा हङकङले सिंगापुरलाई ८ रनले हराएको हो।
हङकङले दिएको १४९ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४० रन मात्र बनायो। सिंगापुरका जनक प्रकाशले सर्वाधिक ३१ रन बनाए। उनले ३२ बलमा ४ चौका प्रहार गरेका थिए।
यता, अरित्रा दत्तले १६ बलमा ३ चौका र २ छक्कासहित २९ रनको योगदान दिएका थिए। अवि दीक्षितले १९, रज्जा गजनवी १७, मनप्रित सिंहले १५ र सुरेन्द्रन चन्द्रमोहनले १२ रन बनाए। हङकङका इशान खानले सर्वाधिक ३ विकेट लिएका थिए।
त्यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो।
हङकङका किञ्चित शाहले सर्वाधिक ३४ रन बनाए। उनले ३२ बलमा २ छक्का प्रहार गरेका थिए। हारुन अर्शदले अविजित रहँदै १४ बलमा ३ चौकासहित २७ रन जोडेका थिए।
यासिम मुर्तजाले २६ रन, जिशान अलीले २० र स्कट म्याकेनीले ११ रनको योगदान दिएका थिए। सिंगापुरका अमजद महबुब र अक्षय पुरीले २/२ विकेट लिएका थिए।