काठमाडौँ - विश्व फुटबलको महाकुम्भ मानिने विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु हुँदैछ। करिब १ महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ। सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ।
विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना हुँदैछ। ६० हजार क्षमताको रंगशालामा विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन्। जसमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्येका जंग कुकले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने छन्।
यस्तै कोलम्बियाकी रक स्टार साकिरा, जे बल्विन, साँगीतिक समूह ब्ल्याक आइड पिज, रोवि विलियम्स, लिल बेबी र भारतीय अभिनेत्री नोरा फतेहीले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने छन्। कोलम्बियन रक स्टार साकिराले सन् २०१० को विश्वकपको आधिकारिक गीत ‘वाक वाक’ गाएकी थिइन्।
फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। तर, अल्कोहलमुक्त बियर भने विश्वकपको ६४ वटै खेलमा रंगशालामा बिक्री गरिने जनाएको छ। विश्वकप हेर्न टिकट काटेकाहरूले अल्कोहल नभएको बियर किन्न पाउने छन्। स्याम्पेन, वाइन, ह्विस्कीलगायतका मदिरा भने रंगशालाको ‘लक्जरी आतिथ्य क्षेत्र’मा पिउन पाइने छ।
उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दै छन्। कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ भने इक्वेडरको भने चौथो सहभागिता हो। सन् २०१९ मा एएफसी एसियन कपको विजेता बन्नु नै कतारको अहिलेसम्मकै ठूलो सफलता हो। एसियाको पावर हाउस जापानलाई हराउँदै एसियन कपको उपाधि जितेको थियो।
विश्व प्रसिद्ध अस्पाएर एकेडेमीबाट खेलाडी उत्पादन थालेको कतारले स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ। समूह ‘ए’मा इक्वेडर, नेदरल्यान्ड्स र सेनेगलविरुद्ध टोलीको आक्रमणभन्दा डिफेन्सको परीक्षा धेरै हुनेछ। अल बायत कतारका लागि भाग्यशाली रंगशाला पनि हो। यस रंगशालामा कतारले पछिल्लो तीन खेलमै जित निकालेको छ। त्यो पनि ९-० को औसतमा।
इक्वेडरको भने विश्वकपमा चौथो सहभागिता हो। सन् २००६ मा दोस्रो चरण पुग्नु नै इक्वेडरको अहिलेसम्मकै ठूलो सफलता हो। यस्तै सन् १९५९ र १९९३ मा कोपा अमेरिकामा चौथो स्थान हासिल गरेको थियो। अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो अल्फारोको प्रशिक्षणमा इक्वेडरले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ। सन् २०२० को अगस्टमा योर्डी क्राएफलाई स्थानान्तरण गर्दै अल्फारो इक्वेडरको प्रशिक्षक बनेका थिए। उनको प्रशिक्षणमा इक्वेडरले अर्जेन्टिना र ब्राजिललाई घरेलु भूमिमा रोक्दै कतार विश्वकपका लागि छानिएको थियो। इक्वेडर २०२१ को कोपा अमेरिकामा एउटै खेल नजिते पनि क्वार्टरफाइनल पुगेको थियो।
पछिल्लो फिफा वरीयता अनुसार इक्वेडर ४४औं स्थानमा रहेको छ। कतार भने इन्वेडरभन्दा ६ स्थानमाथि ५०औं स्थानमा रहेको छ। चौथोपल्ट विश्वकपमा छनोट भएको इक्वेडरलाई समूहमा ‘अन्डर डग’ मानिएको छ। कतार र इक्वेडरले अहिलेसम्म जम्मा ३ खेल खेलेका छन्। जसमा दुवै टोलीले १-१ खेल जितेका छन् भने एउटा खेल बराबरीमा टुंगिएको छ।