काठमाडौँ - तनहुँको आबुखैरेनी- ५ स्थित छिम्केश्वरीमा ४३ वर्षपछि पहिलोपटक हिमपात भएको हुँदा सो स्थानमा आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको छ।
गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। यही विश्वासका साथ नयाँ वर्ष र फागुपूर्णिमाको दिन छिम्केश्वरीमा भक्तजनको भीड लाग्ने गरेको छ। सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ। छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ। पृथ्वीराजमार्गस्थित आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रा मार्फत् छिम्केश्वरी पुग्न सकिन्छ।
हिमपात हुने छिम्केश्वरी तनहुँकै एकमात्र स्थान हो।