काठमाडौँ - धार्मिक पर्यटकीय क्षेत्र किच्चकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ।
परापूर्वकालदेखि स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको भव्य मेला विगत दुई वर्षदेखि महामारीका कारण नलागेको हो। मेलामा भारतको विहारका विभिन्न स्थानदेखि झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट भक्तजनहरू श्राद्ध गर्न, पोखरीमा स्नान गर्न, सतीदेवीको मन्दिरमा पूजापाठ गर्न र मेला भर्न आउने गरेका थिए। किच्चकवध धार्मिक ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समितिले यही फागुन १ गते नै यही ४ गते स्वस्थानी पूर्णिमाको दिन लाग्ने किच्चकवध मेला विश्वव्यापी रूपमा फैलिएको कोरोनाको प्रभावका कारणसरकारको निर्णयअनुसार नलगाउने व्यहोरासहितको सूचना जारी गरेको थियो।
भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकवध महाभारतकालीन कथासँग जोडिएको तर प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो। चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुरको पृथ्वीनगर क्षेत्रको १० बिघा क्षेत्रफलमा फैलिएको यस तीर्थस्थलमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाँडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ। वडाध्यक्ष भीम केरुङले मुलुकमा अझै कोभिड सङ्क्रमणको उच्च जोखिम रहेको हुँदा मेला नलगाइएको बताए।
विगतमा मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको थियो।