एजेन्सी। लिबियामा आसन्न संसदीय निर्वाचनका लागि पाँच हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। लिबियाको निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार संसदीय निर्वाचनका लागि पाँच हजार ३८५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
“उनीहरू सबैले उम्मेदवारी दर्ताका लागि आवश्यक सवै कागजपत्र र प्रक्रिया पूरा गरेका छन्,” आयोगद्वारा जारी वक्तव्यमा लेखिएको छ। आयोगका अधिकारीहरूले उम्मेदवारी दर्ताको समय अवधि गत मङ्गलबार नै सकिएको जानकारी पनि दिएका छन्।
निर्वाचनमा देशभरीका २८ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको आयोगले जनाएको छ। संसद सदस्य चयनका लागि हुने निर्वाचनका लागि भने आगामी सन् २०२२ को जनवरीमा मतदान हुने तय भएको छ। लिबियामा नयाँ राष्ट्रपति चयनका लागि डिसेम्बर २४ मा निर्वाचन हुन लागेको छ। लिबियामा शान्ति स्थापनाको चरण अन्तर्गत अहिले निर्वाचन हुन लागेको हो।