काठमाडौँ - म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ।
क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने तयारी गरेको हो। बिहीबार क्याम्पसमा आयोजित अन्तक्रिया कार्यक्रममा समय सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने गरी स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषय (बिआइसिटीई)को अध्यापन गराउन लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिए।
उनका अनुसार क्याम्पसले स्नातक तहमै शिक्षा सङ्कायमा विज्ञान विषयमा समेत अध्यापन गराउने भएको छ। जिल्लामा अत्यावश्यक र रोजागरको सम्भावना भएकाले कम्युटर र सूचना प्रविधि तथा विज्ञान विषयको अध्यापन गराउन लागिएको उनको भनाइ छ। अध्ययनका लागि कक्षा १२ मा न्यूनतम २.०१ ‘सी’ जिपिए प्राप्त र विज्ञान विषय लिएर पढेको वा विज्ञान सङ्कायमा अध्ययन गरेका विद्यार्थीले आवेदन दिनसक्ने क्याम्पसले जनाएको छ। स्थानतक तहमा कम्प्युटर र सूचना प्रविधि विषयमा धवलागिरिमै पहिलोपटक म्याग्दी क्याम्पसले अध्यापन गराउन लागेको क्याम्पसका निमित्त क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए।
यस वर्ष ३५ जनाको कोटा रहेकामा अहिलेसम्म १२ जना सम्पर्कमा आइसकेका र यही फागुन १० गतेसम्म नियमित तथा फागुन १५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने उनले बताएका छन्।