काठमाडौँ - चेल्सी तथा जर्मनीको राष्ट्रिय महिला टिमबाट खेल्दै आएकी एन कार्टिन बर्गरलाई पुन: थाइराइडको क्यान्सर पुष्टि भएको छ। बर्गरले ४ वर्षपछि पुन: आफूमा क्यान्सर भएको पुष्टि गरेकी हुन्।
३१ वर्षीया बर्गरलाई पहिलो पटक २०१७ मा क्यान्सर देखिएको थियो, जतिबेला उनी बर्मिङघमबाट व्यावसायिक फुटबल खेल्दै आएकी थिइन्। तर, पहिलो पटक क्यान्सर देखिएको ७६ दिनमा नै उनी फुटबलमा फर्किन सफल भइन्।
त्यसपछि उनी २०१९ देखी चेल्सीमा आवद्द भएर व्यावसायिक फुटबल खेल्दै आएकी थिइन्। त्यसलगतै उनी प्रोफेसनल फुटबल एसोसिएसन (पिएफए)ले चयन गरेको टिम अफ द इयरको सूचीमा पर्न सफल भएकी थिइन्।
बर्गर गत जुलाइमा सकिएको २०२२ को युरो फाइनलमा जर्मनीको टिममा समेत समावेश रहेकी थिइन्। बर्गरले यसै साताबाट आफ्नो उपचार सुरु हुने बताएकी छिन्। उनले भनिन् ‘एक स्पोर्टस् पर्सन भएको नाताले हरेक दिन र हरेक समय राम्रो हुनका लागि संघर्ष गर्नुपर्छ। म फेरि एकपटक राम्रोका हुनका लागि संघर्ष गर्ने छु।’
उनले आफूलाई यो समस्याबाट मुक्त हुनका लागि सबैको सहयोग महत्त्वपूर्ण हुने बताइन्। बर्गरले चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै लगातार ३ पटक महिला सुपर लिगको उपाधि जित्न सफल भएकी छिन्। साथै उनी २०२०-२१ को गोल्डेन ग्लोभको विजेता समेत हुन्।
उनले आफूले आफ्नो क्लब डक्टरसँग नजिक रहेर सल्लाह गरिरहेको भन्दै चाँडै सन्चो हुने विश्वास गरिन्। महिला सुपर लिग (डब्लुएसएल) ले बर्गरलाई सबैको साथ रहेको भन्दै चाँडो निको भएर मैदानमा फर्किने विश्वास लिएको छ।