नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्न हुँदैन– एमाले सचिव बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका सञ्चालनमै असफल भएकाहरूले देश चलाउन सक्छन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्। अर्घाखाँचीमा आयोजित एक राजनीतिक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बनेको रवि–बालेन गठबन्धनप्रति कडा टिप्पणी गरेका हुन्।

बस्नेतले सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत स्वतन्त्र छविका नाममा राजनीति गरिँदै आएको भन्दै विवादित व्यक्तिसँगको सहकार्यले स्वतन्त्रताको आकर्षण छिट्टै कमजोर हुने बताएका छन्। उनका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको लोकप्रियता उनको स्वतन्त्र पहिचानसँग गाँसिएको भए पनि रवि लामिछाने नेतृत्वको दलसँग जोडिनासाथ त्यो छवि क्षय हुँदै गएको छ।

“काम गर्ने कालु, मकै खाने भालुजस्तै रास्वपाको राजनीति पुराना दललाई गाली गर्ने र सत्तामा पुग्ने चाहनामा केन्द्रित देखिन्छ,” बस्नेतले भने, “स्पष्ट दिशा, नीति र दीर्घकालीन भिजनको अभावमा जनतासँगको दूरी झन् बढ्दै जाने निश्चित छ।”

उनले भदौ २४ गते राज्यका आधारभूत संरचना र लोकतान्त्रिक मूल्यविरुद्ध योजनाबद्ध आक्रमण भएको दाबी गर्दै त्यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु गम्भीर विषय भएको बताए। माओवादी तथा राजावादी धारहरूको समर्थनसमेत देखिनु लोकतन्त्रका लागि खतरा भएको उनको भनाइ थियो।

बस्नेतले नेपाली राजनीतिमा नयाँ अनुहारलाई बारम्बार ‘आशा’ का रूपमा प्रस्तुत गरिने तर समयसँगै ती पात्रहरू पनि असफल हुँदै गएको उल्लेख गरे। “अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ,” उनले भने।

आगामी निर्वाचनको मूल प्रश्न अराजकता रोज्ने कि लोकतान्त्रिक संरचना जोगाउने भन्ने रहेको बताउँदै उनले संविधान, संसद, सर्वोच्च अदालतजस्ता संस्थामाथि आक्रमण गर्ने प्रवृत्तिको विरोध गरे। उनका अनुसार संरचना जोगाउने जिम्मेवारी अनुभवी र स्थापित राजनीतिक दलहरूले नै बहन गर्नुपर्ने यथार्थ देखिएको छ।

पुराना दलको अस्तित्व नै समस्या नभई तिनका विकृति समस्या भएको उल्लेख गर्दै बस्नेतले नयाँ दल खोल्नु समाधान नभएको स्पष्ट पारे। “राजनीतिक सुधार पुराना दललाई परिमार्जन गरेर सम्भव छ,” उनले भने, “व्यक्तिवादी स्वार्थमा केन्द्रित अभियानले दीर्घकालीन सुधार सम्भव हुँदैन।”

अन्त्यमा उनले संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै, नत्र नयाँ बोतलमा पुरानै रक्सी पिइरहँदा देश फेरि–फेरि उही भ्रमको सिकार हुने चेतावनी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×