प्रेमध्वजको स्मृतिमा प्रतिष्ठान

काठमाडौँ - बलिउड नगरीबाट गोल्डेन भ्वाइसको उपाधि पाएका मखमली स्वर गायक स्व गायक प्रेमध्वज प्रधानको प्रथम वार्षिक पूण्यतिथि पारेर उनको सम्झनामा गोल्डेन भ्वाइस प्रेमध्जव प्रधान स्मृति प्रतिष्ठान स्थापना गरिएको छ।

राजधानीमा उनको परिवारले एक कार्यक्रम आयोजना गरी उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रतिष्ठान स्थापना गरेको हो। किध्र अफ मेलोडीको उपनामले समेत परिचित प्रेमध्वजको नेपाली संगीत क्षेत्रप्रतिको योगदानलाई सदा स्मरण गराउने उद्येश्यका साथ स्थापित प्रतिष्ठानले सांगीतिक क्षेत्रका दिग्गज व्यक्तिलाई गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान संगीत सम्मान तथा नयाँ पुस्ताका संगीतकर्मीलाई पुरस्कार प्रदान गर्ने जनाएको छ। प्रेमध्वजकी पत्नी तथा प्रतिष्ठानकी अध्यक्ष एवं संरक्षिका किरण प्रधानका अनुसार प्रेमध्वजको जीवनी, सांगीतिक यात्रा, सांगीतिक संघर्ष तथा योगदानका बारे जानकारी लिन चाहनेका लागि स्रोत केन्द्रको रुपमा प्रतिष्ठान स्थापना गरिएको हो। प्रतिष्ठानको कार्यालय राजधानीको बागबजारस्थित प्रेमध्वजकै निवासमा रहेको छ।

कार्यक्रममा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले प्रेमध्जवसँगको भेटघाटबारे स्मरण सुनाए। 'पहिलो भेटमा नै मैले उहाँलाई नेपाली तथा नेवारी गीत गाएर सुनाएको थिएँ। उहाँले तिम्रो स्वर राम्रो रहेछ, टाइमिध्र पनि पक्का रहेछ गाउँछौ भने म गीत दिन्छु भनेर एउटा नेवारी गीत दिनुभयो। सोही गीतमार्फत मैले गायन सुरुवात गरेको थिएँ भने २०२६ सालमा झोँछेमा भएको नेवारी भाषाको गीत कम्पिटिसनमा उक्त गीत गाएको थिएँ। त्यसमा सहभागी २९ जनामा म पहिलो भएँ र पुरस्कार पाएँ। पुरस्कार लिन जाँदा मेरो खुद्मा लगलग कामिरहेको थियो। पहिलो गीतमार्फत नै फस्ट भएको कारण त्यही इनर्जीले अहिलेसम्म काम गरिरहेको छ'। उनले प्रेमध्वजले दिएको पहिलो गीत गाएर सुनाएका थिए।

कार्यक्रममा गायक दीप श्रेष्ठले प्रेमध्वजले गाएको संगीतलाई मात्र पछ्याउन सकेमा सफल गायक बन्न सक्ने बताए। 'नुपुर बेनर्जीको बुवाले आयोजना गरेको डक्टरहरुको सम्मेलनमा मलाई पनि कंगो बजाउन बोलाईको थियो। त्यहाँ प्रेमध्वज दाइले स्पेनिस गीतार बजाउनुभएको थियो। आधाजस्तो कंगो मैले बजाएँ भने तबला उहाँले बजाउनुभयो। पछि तपाईंले त राम्रो बजाउनुहुँदोरहेछ भनेर सोध्नुभयो। म त्यति बेलो लुरे फुच्चे केटा तर, उहाले सम्बोधन गर्दा तपाई भन्नुभयो। ओहो यति ठूलो मान्छेले पनि मलाई तपाईं भन्नुभयो भनेर निकै हर्षित भएँ दीपले सुनाए। उहाँकै माया र प्रभावका कारण अहिलेसम्म पनि म सानो भन्दा सानोलाई पनि तपाईं भनेर सम्बोधन गर्छु। उहाले कति गीत गाउनुभयो आर्काइभ रहेनछ। हामी उहाँको गीत गाउने चेष्टा गरौं भन्न चाहन्छु'।

संगीतकार शम्भुजित बास्कोटाले पनि प्रेमध्वजसँगको भेटको स्मरण गर्दै सुनाए। '२०३१ सालतिर रेडियो नेपालमा भ्वाईस टेस्ट सकिएपछि स्टेजमा गाउने क्रम थियो। हरेक साँझ रेडीयो नेपालमा नारायण गोपाल, बच्चु कैलाश, तारादेवी आदीले गाउनुहुन्थ्यो।  प्रेमध्वज दाइ गितार बजाएर गाउनुहुन्थ्यो। म चाहिँ कुनै कुनामा बसेर गितार बजाइरहेको हुन्थेँ। एक दिन उहाँले मैेले गितार बजाएको देखेर भाइ पनि गितार बजाउँदाे रहेछौ भनेर स्टेजमा गोरेटो त्यो गाउँको गीत गाएर मलाई बोलाउनुभयो। पछि, मैले रेडियो नेपालमा गीत गाउन थालेँ'।

प्रतिष्ठानले कोषाध्यक्ष तथा प्रेमज्वजकी भान्जी भुवन मास्के मुस्कानले कोष स्थापनाबारे प्रष्ट पार्दै भनिन् 'हामीले मामा बित्नुभएको एक वर्षसम्म केही गरेनौँ। अहिले वार्षिक पुण्य तिथि पारेर माइजुको इच्छाबमोजिम प्रतिष्ठान स्थापना भएको हो। प्रतिष्ठानमार्फत मामाको आत्मकथा तथा स्मृति ग्रन्थ ल्याउने योजना पनि छ'। कार्यक्रममा उदेश श्रेष्ठले प्रेमध्वजको सम्मानमा उनका केही कालजयी गीत प्रस्तुत गरेका थिए।

कोषको सल्लाहकार समितिमा बच्चु कैलाश बस्नेत, किरण खरेल, योगेश वैद्य, शम्भुजित बासकोटा, र मञ्जु कुमार श्रेष्ठ रहेका छन्। भने कार्यकारिणी समितिमा प्रसन्नध्वज प्रधान उपाध्यक्ष, कविरध्वज प्रधान सचिव, तथा मनराजा नकर्मी, जुगल डंगोल, राजु वैद्य र एरिना श्रेष्ठ सदस्य रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×