काठमाडौँ - इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप भएको छ। प्रदर्शनमा उत्रिएका शरीफ विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ।
भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाएको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिएको छ। प्रहरी हिरासतमा १ युवतीको ज्यान गएपछि इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो।
हिजाब कानुनको पालना नगरेको भन्दै २२ वर्षीया मेहसा अमिनीलाई प्रहरीले पक्राउ गरेको थियो र उनको हिरासतमै ज्यान गएको थियो। गैरसरकारी संस्था इरान ह्युमन राइट्सका अनुसार प्रदर्शनमा अहिलेसम्म १ सय ३३ जनाको ज्यान गएको छ।