काठमाडौँ - भारतीय बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले बिग बोस १६ को सुटिङ रद्द गरेका थिए।
तर, अब सलमान डेंगुबाट निको भइसकेका छन् र उनले छिट्टै शोको सुटिङ सुरू गर्न लागेका छन्। भारतीय सञ्चार माध्यामका अनुसार उनलाई केही कमजोरी र असहज भएतापनि उनी छिटो शोको शुटिङ गर्न लागेका हुन्।
बिग बोससँग सम्बन्धित स्रोतका अनुसार सलमानले बिहीबार विकेन्ड का वारको सुटिङ गर्नेछन्। यस एपिसोडमा कट्रिना कैफ र उनको फिल्म ‘फोन भूत’ को सम्पूर्ण टिम अतिथिको रूपमा देखिनेछन्।
बिग बोसको अन्तिम एपिसोड करण जोहरले होस्ट गरेका थिए। स्रोतका अनुसार सलमानको स्वास्थ्य बिग्रिएपछि उनले आफैंले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए। डेंगुका कारण सलमान कुनै पनि दिवाली पार्टीमा देखा परेका छैनन्। तर, २६ अक्टोबरमा सलमान आफ्नी बहिनी अर्पिताको घरमा देखिएका थिए।
बिग बोस सानो पर्दामा सन् २००६ मा सुरु भएको थियो। यसअघि यो शो अरशद वारसी, शिल्पा शेट्टी, फराह खान र अमिताभ बच्चन जस्ता सेलिब्रेटीहरूले होस्ट गरिसकेका छन्, तर २०१० देखि सलमान यस शोको नियमित होस्ट रहेका छन्।