इंग्ल्याडले जित्यो पाकिस्तानविरुद्धको टेस्ट शृंखला

काठमाडाैँ - पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले शृंखलाको दोस्रो टेस्ट २६ रनले जितेको छ। यससँगै उसले शृंखला जितेको हो। मुल्तानमा सोमवार सम्पन्न टेस्टमा ३५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान ३२८ रनमै अलआउट भएको हो।

इंग्ल्यान्डको जीतमा ह्यारी ब्रूक नायक रहे। उनले टीमको दोस्रो इनिङमा महत्त्वपूर्ण १०८ रन बनाएर पाकिस्तानसामु चुनौतीपूर्ण लक्ष्य खडा गर्न योगदान गरेका थिए। टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो इनिङमा ५१.४ ओभरमा २५१ रन बनाएको थियो। बेन डकेटले सर्वाधिक ६३ र ओली पोपले ६० रनको योगदान गरेका थिए।

पाकिस्तानका डेब्यु बलर अबरार अहमदले २२ ओभरमा ११४ रन खर्चेर ७ विकेट हात पारेका थिए। जवाफमा पाकिस्तानले ६२.५ ओभरमा २०२ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ७५ र साउद शकीलले ६३ रन बनाएका थिए।

दोस्रो इनिङमा ब्रूकको शतकका साथै डकेटको ७९ रनको योगदानमा इंग्ल्यान्डले २७५ रन बनायो। अबरार अहमदले ४ विकेट हात पारेका थिए। अहमदले समग्र म्याचमा ११ विकेट लिएका थिए। जीतका लागि पाकिस्तानले राम्रै गतिमा ब्याटिङ गरिरहेको थियो। तेस्रो दिनको खेल सकिँदासम्म यो खेलमा दुवै टोलीको उत्तिकै सम्भावना थियो।

तर चौथो दिन टीमको स्कोर २९१ हुँदा साउद शकील ९४ रन बनाएर आउट भएपछि पाकिस्तानको हार अवश्यम्भावी बन्न गयो। उनीपछि आएका टेलएन्डरहरूले म्याच जोगाउनका लागि ठोस योगदान गर्न सकेनन्। मार्क वूडले शकील सहित माथिल्लो पंक्तिका ४ जना पाकिस्तानी ब्याट्स्म्यानहरूलाई आउट गरी खेललाई इंग्ल्यान्डको पक्षमा पारेका थिए।

पहिलो टेस्टमा पनि इंग्ल्यान्ड विजयी भएकाले यस टेस्टमा जीतसँगै शृंखला उसकै नाममा रह्यो। तेस्रो टेस्ट कराचीमा शनिवारबाट शुरू हुनेछ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×