काठमाडौँ - नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह बी को विजेता बन्दै छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गाशाला मैदानमा भएको खेलमा नेपालले श्रीलङ्कालाई आधा दर्जन गोल वर्षाउँदै प्रतियोगितामा समूह बी को विजेता बन्न सफल भएको हो। नेपालसँग ६–० गोलअन्तरले पराजित भएको श्रीलङ्का भने प्रतियोताबाट बाहिरिएको छ। श्रीलङ्का पहिलो खेलमा भुटानसँग पराजित भएको थियो।
समूह बीमा नेपालसहित भुटान र श्रीलङ्का रहेका छन्। समूह बी बाट नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने भुटान समूहको उपविजेता बन्दै सेमिफाइनमा पुगगेको छ। नेपालको जितमा अमिशा कार्कीले २ गोल गर्दा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी, र दिपा शाहीले समान १-१ गोल गरेका थिए।
खेलको सुरुवाती अग्रता भने रश्मीकुमारीले लिइन्। उनले खेलको १०औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन्। उनले हिराकुमारी भुजेलको क्रस बललाई हेडरमार्फत गोल गरेकी थिइन्। उनले गोल गरेको १ मिनेट पनि बित्न नपाउँदै नेपालकी अर्की खेलाडी सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। उनले अमृता जैसीको पासलाई सदुपयोग गर्दै गोल गरेकी थिइन्।
यसैगरी खेलको १७औं मिनेटमा अमृताले गोल गर्दै नेपालको अग्रता तेब्बर बनाइन्। उनले अनिता बस्नेतको कर्नर बललाई हेडमार्फत गोल गर्दै नेपाललाई ३-० गोलअन्तरले अगाडि बढाइन्।
खेलको पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा नेपाली अर्की खेलाडी दिपा शाहीले गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाइन्। यसै साफ च्याम्पियनसिपबाट दिपाले डेब्यु गरेकी हुन्।
खेलको पहिलो हाफमा ४-० गोलअन्तरले अगाडि रहेको नेपालले दोस्रो हापमा थप २ गोल गर्यो। दुवै गोल अमिशा कार्कीले गरेकी थिइन्। उनले खेलको ७६ र दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गरिन्।
खेलपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले आफनो टोलीले गरेको प्रदर्शनमा आफू सन्तुष्ट रहेको बताए। उनले आजको खेलमा नसोचेका खेलाडीले समेत गोल गरेको भन्दै आगामी सेमिफाइनल खेलमा अझ राम्रो गर्न प्रयास गर्ने बताए।
श्रीलङ्काका प्रशिक्षक चामिन्डा निल स्टिनवालले आफ्नो टोलीभन्दा नेपाल स्ट्रोङ टोली भएकाले जीत हात पारेको प्रतिक्रिया दिए।